बाइबल एउटा ठुलो पुस्तक हो, जसले सबैभन्दा महान् कथाको बारेमा बताउँछ। यसको प्रत्येक पृष्ठले संसार सृष्टि गर्नुहुने, इतिहासमा कार्य गर्नुहुने र वर्तमानमा पनि निरन्तर कार्य गरिरहनुहुने परमेश्वरको बारेमा बताउँछ। सबैभन्दा महान् कथा बाइबल कथापुस्तक मा पास्टर केभिन डियोङले बालबालिकाका लागि १०४ वटा छोटा अध्यायमार्फत यो महान् कथालाई प्रस्तुत गरेका छन्।

उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पुग्दै, डियोङले बाइबलका विभिन्न कथाहरूलाई रोचक ढङ्गले पुनःकथन गर्दै ती कथाहरू बाइबलको समग्र कथासँग कसरी जोडिन्छन् भन्ने कुरा स्पष्ट गर्छन्। प्रत्येक पाठसँगै पुरस्कार-विजेता कलाकार डन क्लर्कद्वारा तयार गरिएका सुन्दर चित्रहरू छन् र प्रत्येक कथा मनन गर्नका लागि एउटा प्रार्थनासँग समाप्त हुन्छ। सुत्नुअघि पढ्न वा परिवारसँगै पढ्नका लागि उपयुक्त यो पुस्तकले बालबालिका र अभिभावक दुवैलाई बाइबलको मनमोहक कथालाई सरल, बुझ्न सजिलो र प्रभावकारी ढङ्गले फेरि अनुभव गर्न मदत गर्छ।

पुस्तकका विशेषताहरू

केभिन डियोङद्वारा लेखिएको र डन क्लर्कद्वारा चित्राङ्कित: सर्वाधिक बिक्री भएको सहायक पुस्तक The Biggest Story: How the Snake Crusher Brings Us Back to the Garden का स्रष्टाहरू।

बाइबलका १०४ कथाहरूको स्मरणीय पुनःकथन: ६–१२ वर्षका बालबालिकालाई बाइबलको एकीकृत कथा बुझ्न मदत गर्छ।

प्रत्येक पृष्ठमा पूर्ण-रङ्गीन चित्रहरू: जीवन्त चित्रहरूले बालबालिकालाई प्रत्येक रोचक कथामा आकर्षित गर्छन्।

The Biggest Story शृङ्खलाको एक भाग: The Biggest Story ABC, The Biggest Story: The Animated Short Film लगायत बाइबललाई जीवन्त बनाउन मदत गर्ने अन्य सामग्रीहरू पनि यस शृङ्खलामा समावेश छन्।

उच्च गुणस्तरको निर्माण: सिलाइ गरिएको बाइन्डिङ र रिबन मार्कर समावेश गरिएको छ।

केभिन डियोङ (पिएचडी, युनिभर्सिटी अफ लेस्टर) म्याथ्युज, नर्थ क्यारोलाइनास्थित ‘क्राइस्ट कभनेन्ट चर्च’ का वरिष्ठ पास्टर तथा ‘रिफर्ड थियोलोजिकल सेमिनारी, सार्लट’ का सुव्यवस्थित ईश्वरशास्त्र (Systematic Theology) का सह-प्राध्यापक हुनुहुन्छ। उहाँले बालबालिका, वयस्क र प्राज्ञिक वर्गका लागि थुप्रै पुस्तकहरू लेख्नुभएको छ, जसमा जस्ट डू समथिङ (Just Do Something), क्रेजी बिजी (Crazy Busy), र द बिगेस्ट स्टोरी (The Biggest Story) प्रमुख छन् । केभिन र उहाँकी पत्नी ट्रिशाका नौ जना छोराछोरी छन् ।

डन क्लर्क एक चित्रकार तथा सियाटल, वासिङ्टनस्थित व्यापक रूपमा सम्मानित र पुरस्कार-विजेता डिजाइन स्टुडियो ‘इन्भिजिबल क्रिएचर’ (Invisible Creature) का सह-संस्थापक हुनुहुन्छ। उहाँले टारगेट (Target), पिक्सर (Pixar), नासा (NASA), द न्यू योर्क टाइम्स (The New York Times), लेगो (LEGO) र एप्पल (Apple) जस्ता प्रतिष्ठित ग्राहकहरूसँग काम गरिसक्नुभएको छ। डन र उहाँकी पत्नी एरिकाका तीन जना छोराछोरी छन् र उहाँहरू सियाटल बाहिर एउटा सानो फार्ममा बस्नुहुन्छ ।